झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। बुधबार राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै मात्र सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो। सो कार्यालय रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) को प्रचारप्रसार तथा भेटघाटका लागि खोलिएको हो।
तोडफोडबाट कार्यालयको झ्यालका सिसा फुटेको रास्वपा झापा जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए। “कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, अन्य कुनै क्षति छैन,” उनले बाह्रखरीसँग भने।
घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार तोडफोडबारे जानकारी प्राप्त भइसकेको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
