वीरगञ्ज, १९ माघ । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा एउटा अटो बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा र मातहतका इकाइहरूले विशेष सुराकी तथा नियमित जाँचका क्रममा ती सामानहरू नियन्त्रणमा लिएका हुन्।
सशस्त्र प्रहरी बल नं. १३ गणबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा चेकप्वाइन्ट थापी जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको रु. ५,११,१०० बराबरको लत्ताकपडा बरामद गरेको छ।
त्यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा विभिन्न सवारी साधनहरूमा लुकाई–छिपाई ल्याइएका सामानहरू नियन्त्रणमा लिएको छ। बरामद सामानहरूमा कपडा, मोबाइलका पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स तथा मोटर पार्ट्स रहेका छन्। ती सामानहरूको मूल्य रु. ५,९६,००० रहेको छ भने करिब रु. ४,००,००० मूल्य पर्ने एउटा अटो समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) मोहनराज निरौलाका अनुसार बरामद गरिएका कुल रु. १५,०५,१०० बराबरका सामान र अटोलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र जाँचलाई थप तीव्र बनाएको जनाएको छ।
