रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकामा मंगलबार बिहान स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा एकआपसमा ठोक्किएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार बिहानको समयमा लागेको बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त न्यून भएको र चालकहरूले बाटो स्पष्ट रूपमा नदेख्दा दुर्घटना भएको प्रहरीको अनुमान छ।
प्रहरी सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार घाइतेमध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। सामान्य चोटपटक लागेका ४ जना विद्यार्थी उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन्।
दुर्घटनालगत्तै प्रहरीले स्कुल बस र ट्याक्टरका दुवै चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र घाइते विद्यार्थीहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको डीएसपी सापकोटाले जानकारी दिए।
