वीरगन्ज । पर्साको प्रतिनिधिसभाको चारवटै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले व्यापक अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका चारवटै क्षेत्रका उम्मेदवारहरु र दुवै प्रेस संगठनबीच भएको परिचयात्मक अन्तरकृया कार्यक्रममा पार्टीका उम्मेदवारलाई कुनैपनि हालतमा जिताउने अभियानमा लाग्ने निर्णय गरेको छ ।
अन्तरकृया कार्यक्रममा उपस्थिति पर्साका चारवटै क्षेत्रका उम्मेदवारहरुले अन्य पार्टीका उम्मेदवारहरुले पैसाको खोलो बगाएर व्यापक प्रचार प्रसार गरेपनि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुको व्यक्तिगत पृष्ठभूमि र पार्टीले लिएको राष्ट्रिय एजेण्डाका कारणले मतदाताहरु पनि विश्वस्त रहेको बताएका छन् ।
ADVERTISEMENT
अजय चौरसिया क्षेत्र नं.१
पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अजय चौरसिया (सीए) ले नेपाली कम्युनिष्ट आन्दोलनका सबैभन्दा पूराना नेताहरुको खारिएको संघर्षको अनुभव र युवाहरुको चाहाना र माग अनुसारकै अहिले युवा उम्मेदवारहरु पार्टीले उठाएकोले पनि पर्सा जिल्लामा नेकपाले जित्ने आधार बलियो बन्दै गएको बताए । उनले पार्टीका चारवटै क्षेत्रका उम्मेदवारहरुको व्यक्तित्व र क्षमता अरु भन्दा कमजोर नरहेको बताउदै पूरानो संसदीय राजनीतिको अनुभव बटुलेकादेखि विद्यार्थीकालदेखि राजनीति गरेका र नयाँ युवाहरुको माग अनुसारको क्षमता भएका व्यक्तिहरुलाई पार्टीलाई उम्मेदवार बनाएकोले मतदाताहरुमा अन्य विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताए ।
मनोज भाट (कुर्मी) क्षेत्र नं.–२
क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीले २०४८ सालदेखि विद्यार्थी राजनीतिदेखि कम्युनिष्ट आन्दोलनमा होमिएको र समाजमा रहेका विभेद, सामाजिक अन्याय तथा वर्गीय संघर्ष गर्दै अहिले राष्ट्रिय राजनीति र नीति निर्माण तहमा पुग्ने पहिलो अवसर आफूले पाएको बताए । उनले अहिलेसम्म कुनैपनि लाभको पदका लागि राजनीति नगरेको र विद्यार्थीकालदेखि नै सामाजिक सेवामा जीवन समर्पित गरेकोले पनि आफूलाई यसपटकको निर्वाचनमा मतदाताहरुले मत दिने जिकिर गरे ।
छोटेलाल प्र.यादव क्षेत्र नं.–३
त्यस्तै पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार छोटेलाल प्रसाद यादव विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनमा लाग्दै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेर शिक्षण पेशादेखि प्राध्यापन पेशा हुदै अहिले राजनीति सक्रिया रहेको र समाजमा आफ्नो छवि वेदाग रहेकोले पनि मतदाताको रोजाईमा आफू पर्ने बताए । पर्सा क्षेत्र नम्बर ३ मा अहिलेसम्म निर्वाचित सांसदहरु मध्य अहिले पनि ७० नाघेका उम्मेदवारदेखि विकासको बाधक ठेकेदार र विभिन्न आपराधिक मुद्दामा कयौं पटक थुनामा पुगेका व्यक्तिहरु उम्मेदवार बनेर आएकोले त्यस्ता व्यक्तिहरुबाट मतदाता सचेत रहेको बताए ।
जयप्रकाश थारु क्षेत्र नं.–४
पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार जयप्रकाश थारुले कम्युनिष्ट आन्दोलनबाटै गाविस अध्यक्षदेखि संविधानसभा सदस्यसम्म पुगेको र क्षेत्र नम्बर ४ का जनताले आफूलाई विकासप्रेमी नेताको रुपमा चिनेको दावी गरे । उनले आफ्नै पालामा सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गरेर नागरिकताको लागि सधैं सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने देखि विकास निर्माणका कामहरु पनि विवादरहित गरेकोले पनि मतदाताहरुको बीचमा आफू योग्य रहेको बताए । उनले नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिमा स्थापित नेतृत्वको पार्टी नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार भएको र जनमतपनि आफूप्रति आकर्षित भएको अवस्थामा प्रेसका दुवै संगठनले खेलेको भूमिकाले हौसला अझै बढेको बताए । उनले जित सुनिश्चत रहेकोले पनि चारवटै क्षेत्रका उम्मेदवार, पार्टीपंक्ति र शुभेच्छुकहरुले अझ बढी मतले विजयी गराउन व्यापक अभियान चलाउनुपर्ने बताए ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, बाबुराम कौशिक, नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापा, बृजलाल पासवान, नेता बलिराम साह, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा अध्यक्ष शम्भु कुमार सुमन लगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।