काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको बैठकलाई पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन्।
सोमबार १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा उनले निर्वाचन तयारी, सुशासन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा भइरहेका कामबारे जानकारी गराइन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भइसकेको र सुरक्षा व्यवस्था सुदृढ बनाइएको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले आफू अन्तरिम जिम्मेवारीमा रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारिन्। साथै उनले राष्ट्रियसभाको हालै सम्पन्न निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई दिँदै राष्ट्रिय सदाचार नीतिसम्बन्धी प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पनि दिइन्।

