वीरगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई यतिखेर भ्याई नभ्याई छ । देश निर्वाचनमय बनेको छ । संसदीय प्रणालीमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको अस्वभाविक गठबन्धन सरकारले मनपरी र जेनजी आन्दोलनको आक्रोशले २०८४ मा हुनुपर्ने आधाविक निर्वाचन अहिले २०८२ मै अस्वभाविक रुपमा गर्नु परेको छ ।
यसले धेरै राजनीतिक दलका नेताहरुको राजनीतिक भविष्य र नेपाली जनताको भाग्य र भविष्य पनि निर्धारण गर्ने भएको छ । यतिखेर देशमा नयाँ र पूराना, वृद्ध र युवा नेतृत्व जस्ता विषयमा व्यापक चर्चा र बहस शुरु भएको छ ।
डिजिटल युग र सूचना प्रविधिको प्रयोगमा विचार, सिद्धान्तका विषयहरु गौण बनेका छन् । प्रियतावाद हावी भएको छ । जसको जति धेरै प्रचार भयो त्यति नै लोकप्रिय हुन्छ भन्ने सोचको विकासले अहिले मतदाताहरुको मनमा भन्दा उम्मेदवारहरु बढी प्रचारमा व्यस्त देखिएका छन् ।
सामाजिक सञ्जालको प्रयोगबाट जति लोकप्रियता कमाउन सकिन्छ त्यति नै मतदाताहरुको मत ल्याउन सकिन्छ भन्ने जुन उम्मेदवारलाई लागेको छ । उसले भोली निर्वाचित भएपछि पनि भोली उसले जितेको क्षेत्रको विकास पनि त्यहि सामाजिक सञ्जालबाट मात्रै देखाउने छ । मतदाताहरुले भने अनुभूति गर्न पाउने छैनन् । त्यसैले यतिखेर उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर मन जित्नुपर्ने छ ।
त्यसैले कतिपय उम्मेदवारहरुले ‘गुगलका उम्मेदवारहरु भन्दा भूगोलका उम्मेदवारलाई भोट दिऔं’ भन्ने नारा नै लिएर मतदाताको माझमा गएका छन् । प्रियतावादले नेपाली नागरिकलाई दिने आश्वासन मात्रै हो । पाउने चाहिँ धोका नै हो । सञ्चार माध्यमहरुले पनि उम्मेदवारलाई प्राथामिकतामा राखेर उनीहरु अनूकुलका चुनावी प्रचार प्रसार गरिरहेका छन् । मतदाताहरुले के चाहन्छन् ? उनीहरुको समस्या के हो भन्ने ? विषय प्राथामिकतामा पर्न सकेको छैन ।
उम्मेदवारहरु पनि निर्वाचनको प्रचारको माध्यम सामाजिक सञ्जाल नै हो भन्नेमा विश्वासमा छन् । सामाजिक सञ्जालमा गरिने प्रचार उम्मेदवारको पक्षमा धारणा बनाउन र रणनीति तय गर्नका लागि आधार बन्न सक्ला ! तर, सामाजिक सञ्जालमा आएकै मतपरिणामको आधारमा निर्वाचन जितिन्छ भन्ने भ्रमहरु उम्मेदवारहरुबाट हट्नुपर्छ । उनीहरु प्रत्येक मतदाताको घर घरमा पुगेर मन जित्नुपर्छ ।
यसो भनिरहँदा अहिले निर्वाचनको बेला उम्मेदवारहरु घर घरमा मात्रै होईन, खेतबारीमा गएर खेताला बनिदिने, हलगोरुले खेत जोतिदिने अथवा जो किसान जस्तो काम गरिरहेका छन् त्यही काममा सहयोग गरिदिएर भाईरल पनि बनेका छन् । उम्मेदवारहरुको यो नाटकीय शैली कतिपयलाई मन पनि परेको छ ।
तर, जनता अर्थात मतदाताको मन जित्नका लागि यति धेरै नाटक पनि गरिरहनु पर्दैन । मतदाताहरुले पनि एकछिन आएर नाटक गरेको भरमा मन जितेर मत दिने निर्णयमा पनि पुग्नु हुन्न । मतदाताको एकमतले पाँचबर्षका लागि के गर्ला भन्ने सोचेर नै उम्मेदवार छान्नुपर्छ । उम्मेदवारहरुको पृष्ठभूमि, विगतको काम, वर्तमानको हैसियत र भविष्यको सम्भावनालाई सोचेर नै मतदान गर्नुपर्छ ।
यसैपनि अहिले जेन्जी आन्दोलनले जेनजी पुस्ता आउनुपर्छ भन्ने आवाज उठाईरहेका छन् । उनीहरुले उठाएको मागको सम्बोधन गर्ने दल र ति दलका उम्मेदवारहरु कस्ता छन् ? भन्ने मात्रै पनि मतदाताले सोचिदिने हो भने पनि साँच्चिकै युवाले चाहेको परिवर्तन सम्भव हुनसक्छ । उम्मेदवारहरुले पनि सोही अनुसारको रणनीति बनाउनुपर्छ ।

