काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) कर्णाली प्रदेशको आफ्नो पूर्वनिर्धारित कार्यक्रम छोट्याएर आज काठमाडौं आइपुगेका छन्। चुनावी अभियानका क्रममा बझाङमा टाउकोमा चोट लागेर टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्था बुझ्न उनी काठमाडौं आएका हुन्।
रिपोर्टिङका लागि रास्वपा टोलीसँगै सुदूरपश्चिम भ्रमणमा रहेका ४३ वर्षीय सिटौला शुक्रबार बिहान बझाङबाट अछाम जाने क्रममा गाडीबाट ओर्लिँदा लडेर घाइते भएका थिए। अछाम जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनको ग्राण्डी अस्पतालको आईसीयू (ICU) मा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ (मस्तिष्कको झिल्लीबीच रक्तश्राव) भएको छ। उनको अवस्था हाल गम्भीर रहेको जनाइएको छ।
