वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा ११ अर्ब ५७ करोड रुपैयाँ बराबरका १६ थरिका खाद्य पदार्थ आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ करोड रुपैयाँले कम हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनामा ११ अर्ब ७८ करोड रुपैयाँ बराबरका खाद्य पदार्थ आयात भएका थिए। चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड रुपैयाँ बराबरको १५ करोड ४३ लाख किलो धान आयात भएको छ, जबकि गत आवको सोही अवधिमा धान आयात ६ अर्ब ९ करोड रुपैयाँ बराबर थियो।
यस अवधिमा तीन अर्ब ४१ करोड रुपैयाँको मकै, एक अर्ब ६१ करोड रुपैयाँको चामल र ३३ करोड रुपैयाँको माल्ट आयात भएको भन्सार कार्यालयले जनाएको छ। साथै २३ करोड ७३ लाख रुपैयाँ बराबरका फापर, कोदो तथा अन्य खाद्यान्न पनि आयात भएका छन्।
