काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ।
आचारसंहिता पालनाका लागि आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार तथा संस्था गरी २१ जनासँग स्पष्टीकरण सोधिएकोमा पाँच वटाको मात्रै जवाफ प्राप्त भएको आयोगले जनाएको छ।
मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिको निगरानी गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याउन नियामक निकायसँग सहकार्य भइरहेको आयोगले जनाएको छ।
निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा क्रियाशील रहँदै हालसम्म पहिचान भएका ३०२ हानिकारक सूचनामाथि कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचनको मर्यादा र स्वच्छतामा असर पर्ने गतिविधिबारे आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ।
