जनकपुरधाम । धनुषा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ठूलो राजनीतिक धक्का लागेको छ । जसपाका प्रभावशाली स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नेहरूमा जसपा मुस्लिम संगठनका धनुषा जिल्ला कोषाध्यक्ष मोहम्मद जुबैर आलम र जसपाका जिल्ला सदस्य मोहम्मद ओजिर आलमलगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरू रहेका छन् । उनीहरूलाई नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा धनुषा क्षेत्र नम्बर १ का नेकपा उम्मेदवार मातृका प्रसाद यादव लयागले खादा र माला ओढाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरे ।
लामो समयदेखि जसपा नेपालमा रहेर मधेसको राजनीतिमा सक्रिय रहेका आलम द्वयको नेकपा प्रवेशलाई धनुषाको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै नेकपाका नेताहरूले उनीहरूको आगमनले जिल्लामा पार्टीको संगठन सुदृढीकरणमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका नेता मातृका यादवले भने, ‘जसपा परित्याग गरी नेकपाको मुलधारमा समाहित हुनुभएका मो. जुबैर आलम, मो. ओजिर आलमलगायत सम्पूर्ण नेताहरूलाई हामी हार्दिक बधाई तथा स्वागत गर्छु । उहाँहरूको राजनीतिक अनुभवले हाम्रो संगठनलाई नयाँ उचाइ दिनेछ र उहाँहरूको आगामी राजनीतिक यात्राको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’
यसका साथै, नवप्रवेशी नेताहरूले जसपा नेपालको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशको समृद्धिका लागि कम्युनिस्ट विचार नै उत्तम विकल्प भएकाले आफूहरू नेकपामा प्रवेश गरेको बताएका छन् ।
