काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण भेगमा भएको विमान दुर्घटनामा परी विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ।
सरकारी एयरलाइन्स कम्पनी ‘साटेना’ द्वारा सञ्चालित उक्त विमान एचके ४७०९ (HK-4709) ले १३ यात्रु र २ चालक दलका सदस्य (कुल १५ जना) सवार लिएर राजधानी कुकुटाबाट ओकानाका लागि उडेको थियो । बुधबार स्थानीय समयअनुसार बिहान ११ः४२ बजे दुर्घटनामा परेको हो। कम्पनीले दुर्घटनाको पुष्टि गर्दै घटनास्थलमा उद्धार टोली परिचालन गरिएको जानकारी दिएको छ।
सामान्यतया ४० मिनेटको उडान दूरीमा रहेको ओकाना क्षेत्र पहाडहरूले घेरिएको भौगोलिक रूपमा जटिल स्थान मानिन्छ। उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको र विमानमा रहेका कोही पनि जीवित फेला नपरेको एयरलाइन्सले जनाएको छ।
दुर्घटनाको कारणबारे अहिले नै केही खुल्न सकेको छैन। कोलम्बियाली अधिकारीहरूले यसबारे विस्तृत अनुसन्धान सुरु गरिसकेका छन्। सीएनएन बाट
