वीरगञ्ज । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ वीरगञ्जमा आज (बिहीबार) देखि ‘दोस्रो मधेश साहित्य महोत्सव’ सुरु हुँदैछ। मधेस विश्वविद्यालयको परिसरमा आयोजना हुने यस तीन दिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था उत्कर्ष नेपालले जनाएको छ।
महोत्सवको औपचारिक उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा भाष्कर गौतमले ‘गाँव: स्मृति, मिथक र यथार्थ’ विषयमा बीजपत्र प्रस्तुत गर्नेछन्।
महोत्सवमा साहित्यका अतिरिक्त समसामयिक सामाजिक र राजनीतिक मुद्दाहरूमा घनीभूत छलफल हुनेछ। ‘गाँवका युवा: पलायन, पोलिसी र विकल्प’ सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंहले मधेसको युवा पलायन र समाधानका उपायबारे चर्चा गर्नेछन्। ‘गाँव: लोकतन्त्र र सत्ता’ विषयमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखुबीच विमर्श हुनेछ। ‘गाँव: स्मृति र इतिहास’ सत्रमा गोपाल ठाकुर, अन्जय मिश्रा, त्रिभुवन बरई र राकेश मिश्रले मधेसको इतिहासबारे संवाद गर्नेछन्।
देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकहरूको सहभागिता रहने यस महोत्सवमा कविता वाचन, पुस्तक विमोचन र सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ।
आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रितुराज साहका अनुसार महोत्सवले मधेसको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै ओझेलमा परेका कथा र व्यथाहरूलाई मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। तीन दिनसम्म चल्ने यो महोत्सवले विशेष गरी युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ।
