काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सवारी साधन प्रयोग सम्बन्धी कडा निर्देशन जारी गरेको छ। आचारसंहिता उल्लंघन गरेमा सम्बन्धित उम्मेदवारलाई कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।
आयोगका अनुसार राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन वा व्यक्तिले सवारी साधन प्रयोग गर्दा देहायका मापदण्ड पालना गर्नुपर्नेछ।
उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर आफ्नो निर्वाचन क्षेत्रमा बढीमा दुईवटा दुई पांग्रे, तीन पांग्रे वा चार पांग्रे हलुका सवारीसाधन (विद्युतीय वा यान्त्रिक) प्रयोग गर्न पाउनेछन्। सवारीसाधन नचल्ने दुर्गम ठाउँको हकमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने प्रावधान राखिएको छ। विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने छैन। साथै, अनुमति प्राप्त सवारीसाधनको स्वरूप परिवर्तन (Modifying) गर्न पनि रोक लगाइएको छ।
एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न वा दिन पाउने छैनन्। सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पूर्णतया निषेध गरिएको छ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र क्रियापुत्रीका लागि भने निर्वाचन अधिकृतको अनुमतिमा सवारीसाधन प्रयोग गर्न सकिनेछ। अनुमति लिएको स्थानबाहेक अन्य स्थानमा सवारीसाधन चलाउन पाइने छैन।
यदि अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा वा सवारीसाधनमा गैरकानुनी रूपमा प्रचार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले तत्काल सवारीसाधन नियन्त्रणमा लिन सक्ने आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ।
