धनगढी । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका बालेन्द्र साह (बालेन) सुदूरपश्चिम पुगेका छन्। आफ्ना ‘कोर टिम’का सदस्यहरूलाई जिताउन चुनावी अभियानमा निस्किएका बालेन कैलाली-२ को सम्पर्क कार्यालय (घण्टी घर) मा नरोकिई अगाडि बढेपछि रास्वपाका कार्यकर्ताहरू निराश बनेका हुन्।
झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेका बालेन श्रीमती सविना काफ्लेलाई झापामै घरदैलोमा छाडेर सुदूरपश्चिम पुगेका हुन्।
कैलाली-२ का उम्मेदवार केपी खनाल र अछाम-२ का उम्मेदवार भूपदेव शाहको प्रचारका लागि उनी त्यहाँ पुगेका हुन्। तर, बर्दगोरियाको बौनिया बजारस्थित रास्वपाको कार्यालयमा कार्यकर्ताहरू बिहानैदेखि स्वागतका लागि कुरेर बसे पनि बालेन नरोकिई सिधै अगाडि बढेका थिए।
उम्मेदवार केपी खनालले समन्वय अभावका कारण बालेनलाई रोकाउन नसकिएको स्वीकार गर्दै आगामी दिनमा पुनः उनलाई ल्याउने बाचा गरेका छन्।
बालेन सुदूरपश्चिमका कार्यक्रममा व्यस्त रहँदा उनकी श्रीमती सविना काफ्ले भने झापा-५ मा बालेनका लागि भोट माग्न घरदैलो अभियानमा सक्रिय छिन्।
माघ ५ गते जनकपुरबाट चुनावी सभा सुरु गरेका बालेनले पूर्वी नेपालका जिल्लाहरूमा भव्य क्रेज देखाएका थिए। हिजो नेपालगञ्जमा पनि रास्वपा नेता-कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका थिए। बालेनको यो दौडाहाले आसन्न फागुन २१ को निर्वाचनलाई थप रोचक बनाएको छ।
