काठमाडौं । काठमाडौंको व्यस्त व्यापारिक केन्द्र जमलमा मंगलबार दिउँसो पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटल अगाडिको सडक खण्डमा दिउँसो १२:२० बजे दुर्घटनामा परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार जमलतर्फ जाँदै गरेको बा.प्र.०१९०२८ च ४५१२ नम्बरको कुरियर भ्यान र बा.प्र.०२००५६ प ३९६७ नम्बरको ईभी स्कुटर विपरीत दिशाबाट आउँदै गरेका अन्य तीन सवारीसाधनसँग ठोक्किएका थिए।
विपरीत दिशाबाट आउँदै गरेका बा ३५ प ९१४४ र बा.प्र.०२९०३१ प ३०७९ नम्बरका दुई मोटरसाइकल तथा बा.प्र.०१९००४ क ५३८१ नम्बरको निजी ईभी हाईस भ्यान दुर्घटनामा संलग्न रहेका छन्।
दुर्घटनामा परी मोटरसाइकल र स्कुटरमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा २८ वर्षीय ललितजंग संजेल ९१४४ नम्बरको मोटरसाइकल चालक सोही मोटरसाइकलको पछाडि सवार ३१ वर्षीया ईशु तामाङ, ३६ वर्षीया सुनिता वली बुढा र ४० वर्षीय विजय श्रेष्ठ स्कुटर चालक छन्।
घाइतेमध्ये सुनिताको राष्ट्रिय ट्रमा सेन्टरमा र अन्य तीन जनाको ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ।
अत्यधिक सवारी चाप हुने सडकमा एकैपटक पाँचवटा सवारीसाधन ठोक्किएपछि दरबारमार्ग र जमल क्षेत्रको यातायात आवागमन केही समय प्रभावित भएको थियो। ट्राफिक प्रहरीले दुर्घटनामा संलग्न पाँचै वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
प्रहरीले कुरियर भ्यानका चालक विश्वनाथ कोइराला र ईभी भ्यानका चालक राघव श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। साँघुरो सडक र सवारीसाधनको अनियन्त्रित गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
