काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने भन्सार महसुल (Tariff) भारी वृद्धि गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै उनले साविकको १५ प्रतिशत भन्सारलाई बढाएर २५ प्रतिशत पुर्याएका हुन्।
सन् २०२५ मा दुई देशबीच भएको ऐतिहासिक व्यापार सम्झौतालाई उल्ट्याउँदै ट्रम्पले नयाँ महसुल दर घोषणा गरेका हुन्। दक्षिण कोरियाली संसद्ले अघिल्लो सम्झौताको पूर्ण पालना र अनुमोदन नगर्दा अमेरिकी उद्योग र श्रमिकलाई नोक्सान पुगेको ट्रम्पको दाबी छ।
यो वृद्धिले दक्षिण कोरियाबाट निर्यात हुने कार, औषधि र काठजन्य सामग्रीलाई सबैभन्दा बढी असर पार्नेछ। निर्णय सार्वजनिक भएलगत्तै दक्षिण कोरियाली सेयर बजार ‘कोस्पी’ (KOSPI) मा ठूलो गिरावट आएको छ। हुन्डाई र किया जस्ता ठूला अटोमोबाइल्स कम्पनीका सेयर दबाबमा परेका छन्।
स्थितिलाई थप बिग्रन नदिन र समाधान खोज्न दक्षिण कोरियाली व्यापार मन्त्री तत्काल वासिङ्टन प्रस्थान गर्ने तयारीमा छन्। कोरियाली सरकारले कूटनीतिक वार्तामार्फत समस्या सुल्झाउन प्रयास गर्ने जनाएको छ।
यसअघि ट्रम्पले युरोपेली युनियन र क्यानडालाई पनि यस्तै आर्थिक दबाब दिने चेतावनी दिएका थिए। पछिल्लो कदमले अमेरिका र दक्षिण कोरियाबीचको दशकौँ लामो व्यापारिक सम्बन्धमा नयाँ दरार पैदा गरेको विश्लेषण गरिएको छ।
