बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दै छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकका लागि चारवटा मुख्य सम्भावित कार्यसूची तय गरिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन चार जना प्रदेशसभा सदस्य धनबहादुर मास्की, कृष्णा केसी, धर्मबहादुर चौधरी, कह्नैया बानियाहरूले पदबाट राजीनामा दिएका छन्। बैठकमा सभामुख तुलराम घर्ती मगरले ती स्थान रिक्त भएको जानकारी गराउनेछन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक’ पुनर्विचारका लागि फिर्ता पठाएका छन्। विशेषगरी प्रदेशसभा सदस्यहरूलाई पनि तालिम दिने बुँदामा प्रदेश प्रमुखले आपत्ति जनाएका हुन्। आजको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले सो विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्ने र उठेका प्रश्नको जवाफ दिने कार्यतालिका छ।
बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश हुने सूची छ। बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नका लागि ‘विशेष समय’ छुट्याइएको छ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा चार जनाको राजीनामासँगै अहिले सांसदको संख्या ८३ मा झरेको छ।
