काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न जान लागेका अधिकृतहरूलाई निर्देशन दिँदै उनले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्न स्पष्ट पारेका हुन् ।
आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन उनले जोड दिएका छन् । व्यावसायिक प्रदर्शनमा कमजोरी गर्ने वा गल्ती गर्ने कमाण्डरहरूमाथि तत्काल कारबाही गरिने उनले चेतावनी दिएका छन् । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै अनुशासन, निष्पक्षता र उच्च व्यावसायिकताका साथ कार्यक्षेत्रमा खटिन उनले मातहतका कर्मचारीलाई निर्देशन दिए । पदीय जिम्मेवारीमा रहेर बदमासी गर्ने अधिकृतहरूलाई कडा कारबाही गरिने आईजीपी अर्यालको भनाइ छ ।
महानिरीक्षक अर्यालले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
