वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं–७ रेल्वे सडकखण्डमा रहेको एक गोदाममा छापा मारी झन्डै ३० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.–५ बस्ने बिकाश गोयलले सञ्चालन गर्दै आएको‘ए–सबी. ट्रेडिङ्ग’ को गोदामबाट ती सामग्री बरामद गरिएको हो।
बिन्दु गोयलको नाममा दर्ता रहेको उक्त गोदाममा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा मालवस्तु भण्डारण गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
आईतराति करिब ८ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले कानुनी रित पुर्याई खानतलासी गर्दा अवैध स्टेशनरी र किरानाका सामग्री फेला पारेको थियो।
बरामद गरिएका सामग्रीहरूमा पेन्सिल, इरेजर, कट्टर, तास, टेप, बेलुन, लाइटार, रबर, जिभिया, गुच्चा लगायतका खुद्रा सामानहरू रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिएका छन्।
बरामद गरिएका ती सबै मालबस्तुहरूको अनुमानित बजार मूल्य ३० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामानहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
