काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६५ मध्ये १४१ क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। बाँकी २४ क्षेत्रको उम्मेदवार चयन गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।
काठमाडौंका ४, ५, ७ र ९, झापा ३, काभ्रे २, ताप्लेजुङ १, रुपन्देहीका तीनवटै क्षेत्र लगायत २४ निर्वाचन क्षेत्रको उम्मेदवार तय गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ।
११औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध प्यानल बनाएर उत्रिएका नेताहरूको क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी छ। यसमा ईश्वर पोखरेल (काठमाडौं ५), योगेश भट्टराई (ताप्लेजुङ १) र कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९) को क्षेत्र रहेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र भएकाले तालमेलको सम्भावनाका कारण उम्मेदवार घोषणा नगरिएको बुझिन्छ। कांग्रेस सभापति गगन थापाको क्षेत्रमा एमालेले राजन भट्टराईको स्थानमा नयाँ अनुहार ल्याउने वा उनैलाई दोहोर्याउने भन्ने निर्णय लिन बाँकी छ।
महासचिव शंकर पोखरेलको इच्छा अनुसार उम्मेदवार तय गरिनेछ। रुकुम पूर्व १ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने भएकाले सो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।
