वीरगञ्ज । पत्रकार गोविन्द देवकोटा यस वर्षको ‘स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले हरेक बर्ष प्रदान गर्दै आएको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट यसबर्ष देवकोटाले पाएका हुन् ।
महासंघद्वारा बिहीबार वीरगञ्जमा आयोजित विशेष समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले देवकोटालाई नगद ५१ हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरे ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्षसमेत रहेका देवकोटालाई पर्साको पत्रकारिता क्षेत्रमा तीन दशकदेखि पुर्याएको विशिष्ट योगदानको कदर गर्दै महासंघले यो पुरस्कार प्रदान गरेको हो।
पुरस्कार वितरण गर्दै मन्त्री पटेलले देवकोटाले निष्पक्ष, निष्ठावान् र उत्तरदायी पत्रकारितामार्फत समाजमा छुट्टै पहिचान बनाएको बताए ।
पछिल्लो समय मिडियाको संख्या बढे पनि गुणस्तर र मापदण्डमा चुनौती देखिएको उल्लेख गर्दै उहाँले मधेसका पत्रकारहरूका लागि व्यवस्थित प्रशिक्षणको आवश्यकता औँल्याए ।
मधेसको मिडिया क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता थियो।
पुरस्कार ग्रहण गरेपछि पत्रकार देवकोटाले यो सम्मानले समाजप्रतिको आफ्नो उत्तरदायित्व अझ बढाएको प्रतिक्रिया दिए ।
उनले विगत तीन दशकदेखि उठाउँदै आएको समाजको आवाजलाई आगामी दिनमा अझ सशक्त र जिम्मेवार भएर निरन्तरता दिने प्रेरणा मिलेको बताए ।
देवकोटा पर्सेली पत्रकारितामा सामाजिक विषय र मुद्दा तथा आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकायहरुलाई कलमको माध्यमबाट मात्र नभई वीरगन्जमै उपस्थित गराएर पनि समस्या समाधानका लागि दबावमूलक कार्यक्रमहरुको आयोजना गरेर सामाजिक न्यायमा योगदान पु¥याउदै आएका व्यक्ति हुन् ।
मधेसमा व्याप्त दाईजो, बालविवाह, तथा बोक्सीको अरोप जस्ता कुप्रथाहरुको अन्त्यका लागि सञ्चार क्षेत्रको माध्यमबाट जिम्मेवार निकायहरुलाई उपस्थित गराई समाधानका लागि दबाव दिने देखि वीरगन्ज पथलैया औद्योगिक करिडोरमा देखिएको मजदूर र रोजगारदाताबीचको द्वन्द्व समाधानका लागि नेपालमै पहिलो पटक १९ बुँदे समझदारी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले स्वर्गीय गोपाल गिरीले पत्रकारिता र राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सहभागी वक्ताहरूले सञ्चार क्षेत्रले व्यावसायिक मर्यादा र न्यूनतम मापदण्डको प्रभावकारी पालना गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
पर्साका पूर्व मेयर तथा पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीको २०६० साल माघ १ गते हत्या गरिएको थियो। उनकै स्मृतिमा महासंघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

