काठमाडौँ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीमा कुनै पनि किसिमको विभाजन नभएको दाबी गर्नुभएको छ। विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भई निर्वाचन आयोगमा विवरण अध्यावधिक गर्न पुग्नुभएका शर्माले यस्तो स्पष्टीकरण दिनुभएको हो।
बिहीबार नवनिर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरूले निर्वाचन आयोग पुगेर नयाँ कार्यसमितिको विवरण दर्ता गराएका छन्। विगतमा “पार्टी विभाजन हुने अवस्था आए आफू हलबाट बाहिरिने” बताएका शर्मालाई पत्रकारहरूले सोही प्रश्न दोहोर्याएका थिए। जवाफमा शर्माले प्रतिप्रश्न गर्दै भन्नुभयो, “कहाँ विभाजन भयो त पार्टी?” शर्माले पार्टी अहिले झन् एकढिक्का भएको र अब पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो।पार्टीको नीति र नेतृत्वको नयाँ विवरण लिखित र मौखिक रूपमा जानकारी गराइसकेको र आयोगले छिट्टै यसलाई अध्यावधिक गर्नेमा आफूहरू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो।
गगन थापा नेतृत्वको यो नयाँ कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कांग्रेसको आन्तरिक समीकरणमा नयाँ मोड आउने देखिएको छ।

