काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसमा भएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात भएको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै डा. भट्टराईले यो कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसले सफलतापूर्वक नेतृत्व परिवर्तन गरी दलको पुनर्संरचना सुरु गरेकोमा उनले खुसी व्यक्त गरेका छन्।
नेतृत्व परिवर्तनले देशको समग्र राजनीतिमा सकारात्मक ऊर्जा दिने उनको अपेक्षा छ। पुनर्संरचित दलहरू र नयाँ वैकल्पिक शक्तिहरूबीचको स्वस्थ प्रतिस्पर्धाले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउने उनले उल्लेख गरेका छन्।
डा. भट्टराईले कांग्रेसको यस कदमले अन्य राजनीतिक दलहरूलाई पनि रूपान्तरणको बाटोमा जान बल पुग्ने विश्वास समेत दिलाएका छन्।
