काठमाडौं । समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न मातहतका समितिहरूलाई निर्देशनात्मक परिपत्र जारी गरेको छ।
सिफारिसको निर्देशन अनुसार पार्टीको विधानको धारा ११७ (३) अनुसार योग्यता पुगेका व्यक्तिहरूको नामावली पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिइएको छ। प्रत्येक क्षेत्रीय समितिले उम्मेदवारको नामावली संकलन गरी रायसहित ७ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ।
उम्मेदवारको राजनीतिक पृष्ठभूमि, संगठनमा पुर्याएको योगदान र सक्रियता स्पष्ट खुलाउनु पर्नेछ। उम्मेदवारहरूको अन्तिम टुंगो पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय संसदीय बोर्डले लगाउनेछ।
पार्टीले जिल्ला समन्वय समितिहरूलाई पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले पुस १५ गतेभित्र प्रदेश समितिमा नाम पठाइसक्न निर्देशन दिएको छ। त्यस्तै, प्रदेश समितिले पुस २० गतेभित्र केन्द्रमा सिफारिस पठाइसक्नुपर्ने कार्यतालिका रहेको छ।
