विश्रामपुर, पर्सा । विश्रामपुर गाउँपालिका–२ बरैनिया टोलमा ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको नाला र सडक ढलान निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। स्थानीय सुरेन्द्र साहको घरदेखि दक्षिणतर्फको यो अधुरो योजना गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो, वडा अध्यक्ष मनोज कुमार यादव र स्थानीयको सक्रिय पहलमा सम्पन्न हुन लागेको हो।
गाउँपालिकाको कार्यालयले मंगलबार निर्माण कार्यको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा अध्यक्ष भुट्टोले लामो समयदेखिको यो समस्या अब स्थायी रूपमा समाधान हुने र गुणस्तरीय निर्माण सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, उपाध्यक्ष प्रियंका देवीले जनताको सुविधालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो भने प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केसरीले प्राविधिक गुणस्तरका आधारमा ढलान कार्य सम्पन्न गरिने जानकारी दिनुभयो। सडक निर्माणका लागि आवश्यक बजेट निकासा भई काम द्रुत गतिमा अघि बढेपछि स्थानीय बासिन्दा खुसी भएका छन्।
