बारा, १६ पुस । बाराको पचरौता नगरपालिकामा ठुलो परिमाणको अवैध लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटना विवरण: मिति २०८२ पुस १५ गते राति करिब २०:१५ बजेको समयमा पचरौता नगरपालिका वडा नं. ३ स्थित ब्रह्मस्थान नजिकै गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकललाई प्रहरीले शंका लागि चेकजाँच गरेको थियो। सो क्रममा उक्त मोटरसाइकलमा लुकाई छिपाई राखिएको १० किलोग्राम (दुई पोका) गाँजा फेला परेपछि प्रहरीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरू: पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका वडा नं. ३, रामनगर बस्ने ३३ वर्षीय राजकुमार कुशवाहा र सोही ठाउँका २८ वर्षीय पुनदेव पटेल रहेका छन्।
प्रहरीले बरामद गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
