वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको सरकारी नम्बर प्लेटको ‘हिलक्स’ (Hilux) गाडी वीरगन्जमा दुर्घटनाग्रस्त भएको छ। अनियन्त्रित गतिमा रहेको उक्त गाडीले सडक किनारको पोलमा ठक्कर दिँदा गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
लापरवाहीको पराकाष्ठा जनताले तिरेको करबाट खरिद गरिएको महँगो सरकारी सवारी साधनलाई व्यक्तिगत स्वार्थ वा लापरवाहीका कारण दुरुपयोग गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। सरकारी कामको सिलसिलामा बाहेक वा अनधिकृत व्यक्तिले गाडी चलाएको हुनसक्ने आशंका गरिएको छ।
कारबाहीको माग सार्वजनिक सम्पत्तिको यस्तो बिचल्ली हुनुले गाउँपालिकाको गैरजिम्मेवारीपन प्रष्ट पारेको भन्दै दोषीमाथि तत्काल छानबिन हुनुपर्ने माग उठेको छ। “जनताको सम्पत्तिमाथि यसरी मनपरी गर्न पाइँदैन, दोषीलाई कडा कारबाही र क्षतिको शोधभर्ना गराइनुपर्छ,” एक स्थानीयले बताए।
घटनाको सम्बन्धमा थप विवरण र चालकको पहिचानबारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी आउन बाँकी छ।
