विराटनगर । कोसी प्रदेशका तर्फबाट राष्ट्रिय क्रिकेटमा सक्रिय खेलाडी मिनष थापाको सडक दुर्घटनामा परी दुखद निधन भएको छ। बिहीबार (पुस १०) बिहान विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
बिहान करिब पौने १ बजे भएको उक्त दुर्घटनामा थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका निम्ति कोसी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको छ।
क्रिकेट क्षेत्रमा अपूरणीय क्षति विराटनगर–५ निवासी थापा विगत नौ वर्षभन्दा बढी समयदेखि कोसी प्रदेशबाट राष्ट्रिय क्रिकेट खेलिरहेका थिए। कुशल ब्याट्सम्यानका रूपमा परिचित उनले नेपालका विभिन्न प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका थिए।
थापा आफ्नी आमा तनुजा र भाइ प्रदीपसँग विराटनगरमा बस्दै आएका थिए। उनको असामयिक निधनले नेपाली क्रिकेट जगत र खेलप्रेमीहरूमा गहिरो शोक छाएको छ। थापाको शव अहिले पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ।
