वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित पोखरीको डिलबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिहीबार बेवारिसे अवस्थामा बोराभित्र लुकाएर राखिएको ११,०६८ वटा (७३८ फायल) नाईट्राभेट (NITRAVET-10) ट्याब्लेट फेला पारेको हो। बरामद गरिएको उक्त लागुऔषधलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) विश्वराज योन्जनले जानकारी दिए।
पर्सा जिल्लालाई लागुऔषध मुक्त बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। यसअघि गत मंसिर महिनामा ३२३ केजी र यही पुस ९ गते १२० केजी गाँजा समेत बरामद गरी नेपाल प्रहरीलाई बुझाइसकिएको कार्यालयले जनाएको छ।
