काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज नेपालसहित विश्वभरका धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन्। दुई हजार २५ वर्षअघि आजकै दिन (डिसेम्बर २५) इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो।
नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार यस दिनलाई क्रिश्चियन समुदायले मुक्ति, प्रेम र शान्ति गरी तीनवटा दिवसको रूपमा मनाउने गर्दछन्। मानिसलाई प्रेम गर्न आएकाले ‘प्रेम दिवस’, शान्तिको सन्देश फैलाउन आएकाले ‘शान्ति दिवस’ र मानिसलाई पापबाट मुक्ति दिन आएकाले यसलाई ‘मुक्ति दिवस’ का रूपमा लिने गरिन्छ।
नेपालमा वि.सं. २०६३ पछि महोत्सवको रूपमा मनाउन थालिएको यो पर्वको अवसरमा आज महासंघले ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरेको छ। पछिल्लो समय पर्यटकीय क्षेत्रहरू ठमेल, बौद्ध, पोखरा र सौराहामा क्रिसमसको विशेष रौनक देखिने गरेको छ, जहाँ प्रमुख स्थलहरू क्रिसमस ‘ट्रि’ र रङ्गीचङ्गी बत्तीले सजाइएका छन्।
महासंघको तथ्याङ्क अनुसार हाल नेपालमा करिब १३ हजार चर्च र ३० लाख क्रिश्चियन धर्मावलम्बीहरू रहेका छन्। यस विशेष अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ।
