वीरगन्ज । नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डाक्टर विश्वराज पौडेलले मुलुकको अर्थतन्त्र विस्तारै सुधारको लयमा फर्किएको बताएका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित ‘अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधेस प्रदेशमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर डा. पौडेलले अर्थतन्त्रमा अहिले स्रोतको भन्दा पनि आत्मविश्वास वा मनोबलको कमी देखिएको उल्लेख गरे । यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न बैंक प्रयासरत रहेको जानकारी दिए ।
‘जसरी मानिसलाई बाँच्नका लागि हावा र पानी चाहिन्छ, त्यसैगरी व्यवसायका लागि ऋण पाउनु सबैको अधिकार हो’ उनले भने, ‘ऋणका लागि कसैलाई भनसुन गर्नुपर्ने अवस्था आउनुहुँदैन।’
उनले बैंकहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्याउन र निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन समेत दिए ।
मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत आवश्यक रहेको उनको धारणा थियो।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बैंकहरूमा तरलता बढे पनि साना तथा मझौला व्यवसायीले ऋण पाउन नसकेको गुनासो गरे ।
उनले भने, ‘ऋण ठूला साहुहरूको पहुँचमा मात्र सीमित छ, साना व्यवसायीलाई वास्ता गरिँदैन। अर्कोतर्फ, उद्योगमा हुने तोडफोड र आगजनीका कारण निजी क्षेत्र त्रसित छ।’
उनले राष्ट्र बैंकलाई सरकारको आर्थिक सल्लाहकारको रूपमा सुरक्षा व्यवस्था मजबुत बनाउन पहल गरिदिन आग्रह गरे ।
यस्तै, संघका पूर्व अध्यक्ष अशोक वैदले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट रहेको बताए । देशमा सुशासनको अभाव र एकद्वार प्रणाली कार्यान्वयन नहुँदा वैदेशिक लगानी भित्रिन नसकेको उनको तर्क थियो।
सीमा क्षेत्रबाट हुने वार्षिक ८ खर्ब रुपैयाँ बराबरको अवैध कारोबार नियन्त्रण गर्न सके राज्यलाई ठुलो राजस्व प्राप्त हुने दाबी गर्दै उनले भारतीय बजारको सट्टा नेपाली उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए ।
बैंकिङ क्षेत्रको तर्फबाट प्राइम कमर्सियल बैंकका प्रमुख सूर्य प्रसाद तिवारीले कोभिडपछिको अवस्थामा बैंकहरूले पनि कर्जा असुलीमा गम्भीर चुनौती भोगिरहेको बताए ।
बजारमा फैलिएका नकारात्मक हल्लाका कारण कर्जा असुली प्रभावित भएको र कार्यक्षेत्रमा खटिने कर्मचारीमाथि आक्रमणका घटना बढेकाले सुरक्षाको जोखिम बढेको उनले उल्लेख गरे ।
नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका अनुसन्धान निर्देशक प्राध्यापक डा.रामशरण खरेलले वर्तमान आर्थिक स्थिति र मौद्रिक नीतिको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्दै भने, ‘अहिले अर्थतन्त्र अनुकुल अवस्थामा रहेको छ, त्यसैले लचिलो मौद्रिक नीतिको कुरा गरिरहेका छौं । ब्याजदर पनि ऐतिहासिक रहेको छ ।’
नेपाल राष्ट्र बैंकका उपनिर्देशक जगदीश कुमारले स्वागत गरेको कार्यक्रममा सहजीकरण नेपाल राष्ट्र बैंकका सन्देश कुमार ठाकुरले गरेका थिए । कार्यक्रममा वीरगन्जका उद्योगी व्यावसायी, बैंक तथा वितीय क्षेत्र, शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको नरेश सर्राफले जानकारी दिए ।

