काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक तथा पुल योजनाको निर्माण सुनिश्चित गर्न तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आव २०८२/०८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा बैठकमा उनले रद्द ठेक्काको बाँकी कामको नापजाँच र आवश्यक बजेट मूल्यांकन गरी नयाँ टेन्डर अघि बढाउन आग्रह गरे।
सडक विभागअन्तर्गत अलपत्र परेका ४३ ठेक्काको कुल रकम करिब २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। स्रोत व्यवस्थापन भएकाले हाल समस्या नरहेको र आवश्यक परे अर्थ मन्त्रालयसँग सहजीकरण गरिने मन्त्री घिसिङको भनाइ छ।
यता, चालु आवको पहिलो त्रैमासिकमा मन्त्रालय मातहतको खर्च ११ अर्ब ६४ लाख रुपैयाँ मात्र भएको छ, जुन वार्षिक लक्ष्यको ७.६७ प्रतिशत हो।

