विराटनगर । सुनसरीको रामधुनी–२ मा सीटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको घटनामा संलग्न मुख्य योजनाकारसहित ७ जना पक्राउ परेका छन्। असोज २५ गते मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेपछि चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
पक्राउ परेकामध्ये राजकिशोर साहले तन्त्र–मन्त्र गरेर बिरामी पारेको आरोपमा चौधरीको हत्या गराउन ६ लाख ५० हजार रूपैयाँ एडभान्स दिएको खुलेको प्रहरीले जनाएको छ। व्यक्तिगत दुश्मनीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अन्य व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान जारी छ।

