वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि प्रतिक्षामा रहेको कृषि उपजको व्यवस्थित थोक बजार सञ्चालनमा ल्याएको छ । किसानहरूले उत्पादन गरेका तरकारी तथा फलफूलको बिक्री वितरणलाई सहज बनाउन वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने रेल्वे सडकस्थित छपकैयाँमा थोक बजारको उद्घाटन गरिएको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आइतबार कृषि थोक बजारको उद्घाटन गर्दै यसलाई व्यवस्थित र सफा राख्न छपकैयाँवासीको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिए । उनले डेढ वर्षअघि नै बजार सञ्चालनमा ल्याउने योजना रहे पनि विविध कारणले ढिलो भएको जानकारी दिए ।
यसअघि वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ रहेको बीपी उद्यानमा अव्यवस्थित रुपमा सञ्चालित कृषि थोक बजारलाई अब छपकैयाँमा निर्माण गरिएको व्यवस्थित बजारमा स्थानान्तरण गरिएको हो । प्रमुख सिंहले अदालतले समेत बीपी उद्यानमा कुनै पनि कंक्रिट संरचना निर्माण गर्न नपाउने आदेश गरेकाले अदालतको आदेश कार्यान्वयनका लागि व्यवसायीहरूलाई यहाँ स्थानान्तरण गरिएको स्पष्ट पारे ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले व्यवस्थित बजार सञ्चालनले तरकारी र फलफूलहरू एकैठाउँमा केन्द्रीकृत हुने र खुद्रा विक्रेताहरूले पनि यहाँबाट सामग्री लाने हुँदा महानगरको सवारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यो बजार किसानले उत्पादन गरेको कृषि उपजका लागि उपयुक्त बिक्री स्थल हुने धारणा राखे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार बजारको पहिलो चरणमा उपभोक्ता समिति मार्फत ३२ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा ७० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । हाल यस बजारमा १६/२० फिट लम्बाई चौडाई क्षेत्रफलका १४ वटा कोठाका सटर र दुईवटा कोल्ड स्टोरेज सुविधा सहित सञ्चालनमा आएका छन् । उनले व्यवसायी र उपभोक्ताको सहजताका लागि बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहितका सबै आधारभूत सुविधाहरू उपलब्ध गराइएको जानकारी दिँदै आगामी दिनमा बजार विस्तारको योजना रहेको पनि बताए ।
वीरगन्ज महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखाका इञ्जिनियर गौरव झाका अनुसार पहिलो चरणको काम सम्पन्न भई बजार सञ्चालनमा आएको छ । उनले दोस्रो चरणमा थप सटर कोठाका लागि भौतिक संरचना विस्तार गर्ने तथा कम्पाउण्ड र गेट निर्माणको काम गरिने बताए ।
यो कृषि बजारमा खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीहरूलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुने महानगरपालिकाको विश्वास छ । इञ्जिनियर झाका अनुसार तरकारी तथा फलफूल व्यावसायीहरुले १२/२५ लम्बाई चौडाईको कोठा सटरहरु निर्माण गर्न माग गरेकोले थप सटरहरु निर्माणको डिजाइन परिवर्तन पनि हुनसक्नेछ ।
बजार व्यवस्थित नहुँदा किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बिक्री गर्न पाइरहेका थिएनन् भने उपभोक्ताले पनि ताजा र स्वच्छ तरकारी तथा फलफूल खरिद गर्न पाएका थिएनन् । व्यवस्थित कृषि बजार सञ्चालनमा आएपछि ताजा र स्वच्छ तरकारीहरु सहज रुपमा पाइने विश्वास उपभोक्ता र किसानहरूले व्यक्त गरेका छन् ।

