हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार साँझ करिब ७ः३० बजे हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटचोक स्थित फडिन्द्र राज पुरीको डेरा कोठामा शंकास्पद रुपमा बसेका उनीहरूलाई फेला पारेको थियो।
शारीरिक र कोठाको खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा डेराका धनी हेटौडा उममहानगरपालिका वडा नमबर ३ लेवटका ४० वर्षीय फडिन्द्र राज पुरी ९, बकैया गाउँपालिका–७ छतिवन घर भई हाल हेटौडा उमनपा–१९ बस्ने ४० वर्षीय सुवास खत्री र मनहरी गाउँपालिका–५ हाडिखोला घर भई हाल हेटौडा–११ नवलपुर बस्ने ३४ वर्षीय बिनोद गुनी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बरामद गरिएको लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि लागूऔषध कसुर मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

