वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वबाट असन्तुष्ट बनेका ७ जना नेताहरूले पार्टी परित्याग गर्दै प्रगतीशिल लोकतान्त्रिक पार्टीमा समाहित हुने निर्णय सार्वजनिक गरेका छन्।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन गरेर सातजना नेताहरुले माओवादी छोडेर जनार्दन शर्माको पक्षमा लागेको घोषणा गरेका हुन् ।
पूर्व नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पूर्व नेकपा माओवादी केन्द्र, पर्सा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय ईन्चार्ज अमिताभ बच्चन दास, पूर्व नेकपा माओवादी केन्द्रका नेता संतोष राज घिमिरे, पूर्व नेकपा माओवादी केन्द्र, २ नं. क्षेत्रीय संयोजक सुनिल रौनियार, पूर्व नेकपा माओवादी केन्द्र, कालिकामाई गाउँपालिका दिनेश प्रसाद यादव, फनिद्र प्रसाद गुप्ता, अखिल क्रान्तिकारी केन्द्रिय लेखा आयोग उपाध्यक्ष गायत्री सिंहले प्रचण्डको पार्टी छोडेका हुन् ।
पार्टी छाड्ने नेताहरूले कम्युनिष्ट पार्टीको नाममा गैर–कम्युनिष्ट तवरले सञ्चालन भइरहेको र जनवादी केन्द्रियताको नाममा नेतृत्व ‘कोटको गोजीबाट छान्ने’ कार्य भएको भन्दै वर्तमान नेतृत्वलाई ‘वृद्ध क्लब झैँ’ को संज्ञा दिएका छन्।
उनीहरूले आजको नव–युवा र एआई पुस्ताले चाहेको राजनैतिक नेतृत्व वर्तमान ढाँचाबाट सम्भव नरहेको तर्क गरेका छन्। नव–प्रवेशी नेताहरूले नेपाली समाजवाद प्राप्तिको निम्ति नयाँ संगठनात्मक विधि र विचारसहित जनताको माझमा जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरूले निशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र समाजिक न्याय, संघीयताको पूर्ण कार्यान्वयन र जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका मुद्धाहरूलाई आफ्नो प्राथमिकतामा राखेका छन्। साथै, क्षेत्रीय, जातीय, लैङ्गिक लगायतका आम मुद्धाहरूलाई वर्गीय मुक्तिसँग जोड्दै अगाडि बढ्ने घोषणा पनि गरेका छन्।
यो घटनाक्रमले नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक असन्तुष्टि पुनः सतहमा आएको देखाएको छ । यस विषयमा नेकपा माओवादी केन्द्र पर्साको नेतृत्वले भने केही बोलेको छैन ।
विशेषतः पार्टीको जिल्ला नेतृत्वको कमजोरीमा पार्टी केन्द्रीय नेतृत्वले समेत केही पहल गर्न नसकेको र केन्द्रीय नेतृत्व पनि गणेश प्रवृत्तिमा नै रमाएका कारणले आफूहरुले जनयुद्धदेखि लागेको पार्टी छोड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको पत्रकार सम्मेलनमा बताए ।
नेता बालकृष्ण श्रेष्ठले जनयुद्धकालिन सहयोद्धाहरुलाई पार्टीले पाखा लगाउदै नवआगन्तुक जसले विचार र निष्ठाको राजनीति नगरी दलाल पूँजीपतिहरुको मात्रै वकालत गर्नेहरुको घेराबन्दीमा नेतृत्व परेको आरोप समेत लगाए ।
उनले पार्टी भित्र नेतृत्वको विकास नगरी फोहोरको डंगुर थुपारेर पार्टीलाई नै दुर्गन्धित बनाएको बताए । अर्का नेता अभिताभबच्चन दासले जनयुद्धदेखि संगठनमा सक्रिय रुपमा लागेकाहरुको कुरा नसुन्ने प्रवृत्ति र जिम्मेवारीमा बसेकाहरुले समेत नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्न नसकेको पार्टीमा बसिरहन उचित नलागेर पार्टी छोड्नुपरेको बताए ।

