वीरगन्ज । वीरगन्जका पत्रकार नरेश सर्राफको स्मृमितसभा तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन पर्साले सर्राफको स्मृतिमा वितरण गर्दै आएको पुरस्कार यसबर्ष आशु कुमार सर्राफलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आशु कुमार सर्राफलाई दोसल्ला, कदरपत्र र नगद २१ हजार राशीको पुरस्कारले पुरस्कृत गरे ।
प्रमुख जिल्ला अधिकारी दाहालले समाजलाई सही दिशामा लैजान ‘स्वच्छ र जिम्मेवार पत्रकारिता’ अत्यन्त जरुरी भएको उल्लेख गर्दै तथ्य पुष्टि नगरी समाचार लेख्दा चरित्रहत्या हुने जोखिम रहने भएको हुँदा व्यावसायिक पत्रकारितामा त्यसलाई ध्यान दिन सुझाव दिए ।
पत्रकारिताले समाजको पिलरको रूपमा सत्य, तथ्य र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए। समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान,
तत्कालिन नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगर, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सञ्चारिका समूह मधेस प्रदेश सचिव कविता खड्का लगायतले स्वर्गीय पत्रकार नरेश सर्राफप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले पत्रकारिता क्षेत्रमा गरेको योगदानको चर्चा गरे ।
नरेश सर्राफको व्यक्तिको विषयमा समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्ष मनोज पटेलले प्रकाश पारेका थिए भने, सञ्चालन सञ्चारकर्मी सूर्यनारायण बिकले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारीका पर्सा अध्यक्ष निरञ्जन मिश्र लगायतको उपस्थिति रहेको थियो ।

