वीरगन्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं.०५, शंकर सरैया टोलबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्य, जिल्ला बेतिया, मुसहरी टोल बस्ने अन्दाजी ६५ वर्षीय गामा बिन रहेको प्रहरीले जनाएको छ। उनी बासघारी हुँदै शंकर सरैयातर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, शनिबार राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थायी प्रहरी पोष्ट शंकर सरैयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले पैदल हिँडिरहेका एक व्यक्तिलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट प्लाष्टिकको बोरामा लुकाइएको अवस्थामा करिब ३० किलो अवैध लागुऔषध गाँजा बरामद भएको थियो।
प्रहरीले बरामद गरिएको लागुऔषध गाँजासहित गामा बिनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा ल्याएको छ। प्रहरीले लागुऔषध नियन्त्रण ऐनबमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

