वीरगन्ज । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ । पर्सामा प्रतिनिधि छनौटमा धाधली भएको भन्दै एक समुहले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
विवादका कारण सम्पूर्ण प्रतिनिधि छनोट प्रक्रिया अनिश्चित बनेको छ। पार्टी विधान विपरीत नेताहरूले आफ्नै मनोमानी ढंगले नियम लागू गर्दा विवाद चर्किएको बुझिएको छ । नेकपा एमालेमा चरम गुटबन्दी स्पष्ट रूपमा देखिएको छ ।
केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा र जिल्ला अध्यक्ष डा.विश्वम्भर शर्माको समूहको एउटा गुट बनेको छ । केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राजकुमार गुप्ता, नेता जालिम मियाँको एउटा गुट बनेको छ ।
नेकपा एमाले वीरगन्ज महानगर कमिटिमा भने संविधानसभा सदस्य तथा नेकपा एमाले मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, महानगर अध्यक्ष नवराज शर्मा र पूर्व मेयर विजय सरावगीको समूह बलियो छ ।
महानगर कमिटिमा प्रतिनिधि छनोटमा प्रभु हजरा समूहले बसरुद्दीन अन्सारीलाई प्रतिनिधि बनाउन भनेका छन् । इञ्चार्ज हजरा, केन्द्रीय सदस्य देवकोटा र जिल्ला अध्यक्ष डा.शर्माले बसरुद्दीन अन्सारीलाई प्रतिनिधि चयन गर्नुपर्ने लबिङ गरेको बुझिएको छ ।
उनीहरुले बसरुद्दीन सहित अर्को एकजना गरि दुईजना प्रतिनिधि आफूहरुलाई दिन भनेका स्रोतको भनाई छ । बसरुद्दीन अन्सारीलाई यसअघि प्रदेश कमिटि बैठकमा अनुपस्थित भएको भन्दै प्रदेश कमिटिबाट हटाईएको थियो अहिले उनलाई आफ्नै वडामा जनाधार नभएर पनि जिल्लाको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज र अध्यक्षले प्रतिनिधि बनाउन कसरत गरिरहेको बुझिएको छ ।
बसरुद्दीन अन्सारीलाई प्रतिनिधि बनाईएमा उनी केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने निश्चित छ । यदि उनी प्रतिनिधि बनेर गए र केन्द्रीय सदस्यमा उम्मेदवारी दिए भने जित्ने पनि निश्चित नै छ ।
उनी केन्द्रीय सदस्यमा जितेमा प्रभु हजरा र निर्मला देवकोटा आफैलाई चुनौती हुृने हो । तरपनि बसरुद्दीनलाई बोक्नुपर्ने कारणको बारेमा भने एमालेभित्रै आश्चार्यमा परेका छन् ।
अहिलेको एमाले प्रतिनिधि छनोट प्रकृयामा बसरुद्दीन अन्सारीको स्वभावमा देखिएको परिवर्तनले पनि एमालेजनलाई अचम्मित पारेको छ । कुनैपनि विषयमा असन्तुष्टि जनाउदा निकै आक्रोशित हुने र निकै आवेगमा आउने स्वभावका बसरुद्दीन अहिले निकै शालिन र भद्र देखिएका एमाले निकट नेताहरु बताउछन् ।

