कलैया । विवाह गर्ने उमेर नपुगेकी नाबालिगसँग विवाह गराएको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, २०८२ मंसिर १० गते राति करिब साढे दस बजे करैयामाई गाउँपालिका वडा नं. १ हरैया टोल बस्ने ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नै उमेर नपुगेकी छोरीको विवाह गराइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
पर्यटक भिसामा नेपाल आएका चीनको गान्सु प्रान्त बस्ने २२ वर्षीय नियू युबिन (ल्क्ष्ग्, थ्ग्द्यक्ष्ल्) सँग जाकिर हुसेन देवानले आफ्नै घरमा सामाजिक रिति–रिवाज अनुसार विवाह गराइरहेको अवस्थामा प्रहरीले छापा मारेको हो।
प्रहरीले विवाह गर्दै गरेको अवस्थाबाट नाबालिगलाई उद्धार गरी बेहुला चिनियाँ नागरिक नियू युबिन र विवाह गराउने बुबा जाकिर हुसेन देवानलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

