काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकामा भएको सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी भ्रष्टाचार प्रकरणमा तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत ११ जनाउपर विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ।
आयोगका अनुसार, जिल्ला धनुषा, कमला नगरपालिका, वडा नं. ३ स्थित लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौन्दर्यकरण गर्ने आयोजनाको ठेक्कामा कम कबोल अंक भएको बोलपत्रदातालाई नदिई बढी अंक कबोल गर्ने ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रा।लि। लाई ठेक्का दिएर भ्रष्टाचार गरिएको पाइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा प्रतिवादीहरूबाट विगो रु २९ लाख ४४ हजार १३७.२९ कायम गरी कैद र जरिवाना सजायको मागदाबी लिइएको छ। साथै, सोही ऐनको दफा २४ बमोजिमसमेत सजाय हुन मागदाबी गरिएको छ।
आयोगले यस भ्रष्टाचार मुद्दामा जिल्ला धनुषा, कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना कर्मचारी तथा पदाधिकारीहरू र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रा।लि। लाई प्रतिवादी बनाएको छ।

