वीरगन्ज । भारतको पटना स्थित मोकामा दुलारचन्द यादव हत्याकाण्डको आरोपमा पूर्व विधायक अनन्त सिंह लाई गिरफ्तार गरिएको छ। पटना एसएसपी कार्तिकेय शर्माको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले उनलाई राति अबेर बाढको बेढना गाउँबाट पक्राउ गरेको हो।
गिरफ्तारीपछि प्रहरीले उनलाई पटना लगेको छ। बिहार विधानसभा चुनाव चलिरहेका बेला मोकामाका जन सुराज पार्टीका समर्थक दुलारचन्द यादव (७५ वर्ष) को हत्या भएको थियो ।
मोकामाको टाल क्षेत्रमा बिहबार भएको हिंसात्मक झडपमा हत्या भएको थियो। उक्त घटनाको अनन्त सिंहलाई मुख्य आरोपी बनाईएको थियो । पटना एसएसपी कार्तिकेय शर्माले प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा अनन्त सिंहलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
उनका अनुसार सिंहसँगै उनका दुई सहयोगी मणिकान्त ठाकुर र रणजीत राम लाई पनि पक्राउ गरिएको छ। विधानसभा चुनावको मुखैमा मोकामा जस्तो संवेदनशील सिटमा एक प्रमुख उम्मेदवारको गिरफ्तारीले राजनीतिक माहोल गर्माएको छ।
यस गिरफ्तारीबाट चुनावी फाइदा वा घाटा कसलाई हुन्छ र यसले मोकामाको चुनावी समीकरणमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा विभिन्न चर्चा भइरहेका छन्।
मोकामा सिटमा नोभेम्बर ६ मा मतदान हुँदैछ। घटनालाई गम्भीरतापूर्वक लिँदै निर्वाचन आयोगले पटना ग्रामीण एसपीसहित धेरै अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउनुका साथै तीन अधिकारीमाथि कारबाही गर्न निर्देशन दिएको छ।
यसले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रशासनमाथि दबाब बढाएको छ।
📰भारतीय सञ्चार माध्यमको सहयोगमा………
