वीरगन्ज । आन्दोलनको क्रममा भएको लुटपाट, तोडफोड र आगजनीले वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि प्रशासनिक कार्यमा आएको गम्भीर समस्यालाई टार्न विभिन्न संघसंस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक संगठनहरूले निरन्तर सहयोग गरिरहेका छन् ।
नेपाल फर्मास्युटिकल्स लिमिटेड (एन.पी.एल) सामाज कल्याण संस्थाले आईतबार सहयोग गरेको छ । संस्थाले महानगर कार्यालयमा पुगेर सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ।
संस्थाका निर्देशक अरविन्द अमात्यले नगरवासीको सेवामा सहजता ल्याउन सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आईतबार महानगरका लागि २० थान कार्यालयमा प्रयोग हुने कुर्सी प्रदान गरेको छ।
यसभन्दा अगाडि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको छ भने औषधि उत्पादक संघ, वीरगंज इकाई ले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो।
महानगरले प्राप्त यस्ता सहयोगहरूले कार्यालय सञ्चालनलाई सहज बनाउनुका साथै कर्मचारीहरूको मनोबल वृद्धि गरेको बताएको छ। महानगर प्रमुख राजेशमान सिंह ले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गरेका छन् ।
उनले भने, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो। यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’
नगर प्रमुख सिंहका अनुसार, प्राप्त सहयोगका सामग्रीहरूलाई प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिनेछ। महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने जनाएको छ।
सामग्री हस्तन्तरण कार्यक्रममा महानगर प्रमुख सिंह, एनपीएलका निर्देशक अमात्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिन्सी शाखा प्रमुख सुधीर राणा, एनपीएलका प्राविधिक प्रमुख सुनिल साह लगायतको उपस्थिति रहेको थियो ।
