काठमाडौँ — ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग बोल्दै उनले आन्दोलनको तयारी सुरु भएको जानकारी दिएका हुन्।
प्रसाईंका अनुसार आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ। उनले मंसिर ७ गते नै दिल्लीमा दलहरू र माओवादीबीच भएको १२ बुँदे सम्झौताका कारण देशमा राजसंस्था र हिन्दु अधिराज्य समाप्त भएको दाबी गरे।
आन्दोलनको तयारीका लागि प्रसाईंले नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमै भण्डारण गर्न आग्रह गरेका छन्। उनले निजामती कर्मचारी र प्रहरीलाई पनि सो मितिदेखि बिदा बस्न सुझाव दिएका छन्। प्रसाईंले आफ्नो आन्दोलन अहिंसात्मक हुने र कसैको घर जलाउने उद्देश्य नरहेको स्पष्ट पारे।
