काठमाडौँ — प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि बहस सुरु भएको छ। प्रारम्भिक बहस अधिवक्ता प्रेमराज सिलवालले गरेका हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन गरिएको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध युवराज पौडेल, किर्तीनाथ शर्मा पौडेल, आयुष बडाललगायतले रिट दायर गरेका हुन्।
रिट निवेदकहरूले सरकार गठन र प्रतिनिधि सभा विघटन दुवै संविधानसम्मत नभएको दाबी गरेका छन्। संवैधानिक इजलासले बहसकर्तालाई पाँच-पाँच मिनेटको समय तोकेर सुनुवाइ अघि बढाएको छ।
