हेटौंडा । बागमती प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम तथा व्यवहारिक कार्यशाला हेटौंडामा जारी रहेको छ ।
सोमबारबाट शुरु भएको कार्यक्रममा प्रदेशका सरकारी कार्यालयहरुका प्रवक्ता, सूचना अधिकारी तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको उदघाटन प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाको विशेष अतिथ्य रहेको थियो ।
कार्यक्रममा समितिका सदस्य अशोक श्रेष्ठले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सूचना पुनरावेदन समितिको परिचय, काम, कर्तव्य र अधिकार, उजुरी तथा पुनरावेदन सम्बन्धी घटनाको अभ्यास, सूचनाको हकको कार्यान्वयन र व्यवहारिक पक्षबारे सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
साथै, मिडिया व्यवस्थापन र संकटकालिन सञ्चार, साइबर अपराध र सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना तथा अफवाहलाई सरकारीस्तरबाट तुरुन्तै पहिचान र तथ्यजाँच गर्ने तरिका लगायतको विषयमा समेत प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, कम्प्युटर अधिकृत उमेश सोती, वागमप्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा लगायतले सहजीकरण गरिरहेका छन् ।

