बुटवल। रुपन्देहीको बुटवलस्थित गैरनाफामूखी संस्थाद्वारा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत २४० जना कर्मचारीहरूले चाडपर्व (दसैँ) खर्च पाएका छन्।
चाडपर्व खर्च नपाएको भन्दै श्रमिकहरूले दिएको गुनासोका आधारमा श्रम तथा रोजगार कार्यालय बुटवलले चासो देखाएपछि अस्पतालले सो रकम भुक्तानी गरेको हो।
श्रम तथा रोजगार कार्यालय बुटवलले गत असोज ३० गते अस्पताललाई पत्राचार गर्दै श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम श्रमिकहरूको चाडपर्व खर्च तत्काल भुक्तानी गर्न निर्देशन दिएको थियो।
उक्त ऐन अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउने व्यवस्था छ।
साथै, एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकहरूको हकमा भने निजले काम गरेको सेवा अवधिको अनुपात (अनुपातिक रूपमा) चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ।
श्रम कार्यालयको निर्देशनपश्चात् अस्पतालले आफ्ना कर्मचारीहरूलाई रकम भुक्तानी गरी सोको विवरण तथा बैङ्किङ कारोबारको प्रमाणित सूची श्रम कार्यालयमा पेस गरेको छ।
अस्पतालले श्रम कार्यालयलाई कार्तिक ९ गते पठाएको पत्र अनुसार २४० जना कर्मचारीहरूलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च बापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरिसकिएको जानकारी दिएको छ।
गैरनाफामूखी रूपमा सञ्चालित यस स्वास्थ्य संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरूको हक र अधिकारप्रति सधैं प्रतिबद्ध रहँदै समयमै भुक्तानी प्रक्रिया सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ।

