काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षमा प्रहरी प्रवेश, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास तथा श्रम अधिकार उल्लङ्घनको विरोधमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा प्रेस विज्ञप्ति जारी गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएकाले आन्दोलनमा उत्रनुपरेको जनाएको छ ।
सञ्चार माध्यममाथि भएको धरपकड, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारगृहबाट पत्रकारलाई गरिएको जबरजस्ती निष्कासन, अनाधिकृत हस्तक्षेप र लोककल्याणकारी विज्ञापन बापतको रकम भुक्तानीमा ढिलाइ जस्ता मुद्दाहरूलाई लिएर महासंघले विरोध जनाएको छ।
घोषित कार्यक्रम अनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने र मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाइनेछ।
यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चार सम्बद्ध संघ–संगठनहरूसँग अन्तरक्रिया गर्नेछन्।
आन्दोलनको अन्तिम चरण अन्तर्गत मंसिर ९ गते महासंघका जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिनेछ।
महासंघले यी मागहरू तत्काल पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरू तय गर्ने चेतावनी दिएको छ।



