वीरगन्ज । दीपावली (तिहार) र छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले कडा नियमहरू सार्वजनिक गरेको छ।
पर्वका अवसरमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण र सार्वजनिक सुरक्षा कायम गर्न प्रशासनले ९ बुँदे अत्यावश्यक निर्देशन जारी गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईंद्वारा जारी सूचनामा सम्पूर्ण जिल्लावासी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा कानुनको पालना गर्न विशेष आग्रह गरिएको छ।
प्रशासनको निर्देशनअनुसार सांस्कृतिक रूपमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
जनस्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै पटका, भुइँचम्पा र आतसबाजीजस्ता खतरनाक तथा प्रज्वलनशील पदार्थहरूको भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।
यस्तै, दीप प्रज्वलन तथा विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगका कारण सर्ट सर्किट भई आगलागी हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
कानुनद्वारा वर्जित गरिएका जुवा, तास, कौडा खेल्ने तथा सट्टेबाजी जस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला तथा अशान्ति सिर्जना नगर्न प्रशासनले चेतावनी दिएको छ।
चाडपर्वको मौका छोपी बजारमा अखाद्य वा म्याद गुज्रिएका वस्तुको बिक्री, कृत्रिम अभाव, मूल्यवृद्धि वा कालोबजारी गर्नेहरूमाथि कडा निगरानी राखिने जनाइएको छ।
यसैगरी, यात्रुवाहक सवारीसाधनहरूले क्षमताभन्दा बढी यात्रु राख्न, तोकिएकोभन्दा बढी भाडा लिन र जोखिमपूर्ण यात्रा गराउन पाउनेछैनन्।
शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी एकाइ वा प्रहरी कन्ट्रोल रुमको फोन नम्बर १०० मा सूचना दिन प्रशासनले आग्रह गरेको छ।
यी निर्देशनहरूको अवज्ञा गरी कुनै गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।

