वीरगन्ज । काग तिहारको अवसरमा आज बिहान यमराजको दूतका रूपमा कागलाई दही भातलगायत मीठा–मीठा परिकार खुवाएर पूजा आराधना गरि मनाईदैछ।
सूर्योदयकालमा कात्तिक कृष्ण त्रयोदशी परेको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय विधानअनुसार आज आइतबार यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
कागले यमराजसमक्ष शुभ खबर पुर्याओस् भन्ने कामनासहित घरघरमा पूजा गरी कागलाई खुसी पार्ने परम्परा छ। यस अवसरमा काठमाडौँको कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ।
यमपञ्चक तथा धनतेरस पर्व भने तिथिको घटबढका कारण शनिबार साँझदेखि नै सुरु भइसकेको छ। परिवारका सदस्यको नाममा दक्षिण फर्काएर यमदीप दान गर्नाले यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।
यमपञ्चकको दोस्रो दिन आज यमदूतका रूपमा कागको पूजा आराधना गरी मीठा–मीठा परिकार खुवाएर देशभर काग तिहार मनाइँदैछ।
कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्व बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेको आधारमा शास्त्रसम्मतरूपमा आइतबार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने शास्त्रीय विधान रहेकाले यमराजसमक्ष शुभ सन्देश पुगोस् भन्ने कामनासहित कागलाई खुसी पार्ने गरिन्छ। लोक व्यवहारमा घर वरपर काग आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै केही सन्देश लिएर आएको विश्वास गर्ने प्रचलन छ।
शास्त्रीय मान्यता अनुसार ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मन पर्ने भएकाले आज विशेषगरी दही भात खुवाउने चलन छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ।
सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने र दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने धार्मिक विश्वाससँग जोडिएको तिहारमा यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा दक्षिण फर्काएर यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भइसकेको छ।
तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेको शनिबार बेलुकीदेखि यमपञ्चक सुरु हुनुका साथै घरमा लक्ष्मी स्थिर रहने विश्वासका साथ गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्वसमेत शनिबार नै मनाइएको छ।

